Thursday, March 31, 2011

"यौनलाई दबाउनु हुन्न"


अभिनयमा रुचि भए पनि उनले झन्डै एक वर्ष मोडलिङमा बिताइन् । यही क्षेत्रमा एक्सपोज भइरहेका बेला उनलाई भीजेको अफर आयो र टेलिभिजनमा दुइटा कार्यक्रमको होस्ट गर्ने भइन् । दुई वर्ष टेलिभिजन कार्यक्रमको प्रस्तोता र रिपोर्टर भएपछि शोभिता सिम्खडाले तीन वर्षअघि फिल्म लाइनमा जम्प गरिन् । पत्रकारिताले फिल्मको रंगीन दुनियाँमा छिर्न सघाएको बताउने उनी यतिबेला व्यस्त अभिनेत्रीमध्ये पर्छिन् । धादिङको गुम्दीमा जन्मे पनि राजधानीको सहरी वातावरणमा हुर्केकी उनी फुर्सदका बेला प्रायः ओशो तपोवनमा भेटिन्छिन् । गत वर्षको केटीभी अवार्डमा उत्कृष्ट नवनायिका अवार्डसमेत हात पारेकी शोभिता दर्शनशास्त्रमा स्नातकोत्तर पनि गर्दै छिन् ।


अचेल केमा व्यस्त ?

नेपाली फिचर फिल्म 'तिम्रै लागि' र भोजपुरी 'दानवीर' को सुटिङ गरिरहेकी छु । भोजपुरी फिल्म सकिनै लाग्यो । नेपाली संस्करणमा समेत रिलिज हुने 'दानवीर' र 'तिम्रै लागि' दुवैमा मुख्य भूमिकामा छु ।

पत्रकारिता गर्दागर्दै फिल्ममा...

हो, यही त मलाई सजिलो भो । खासमा म सानैदेखि अभिनेत्री बन्न चाहन्थें । हरेक हिसाबले म मौका हेरिरहेकी हुन्थें । एसएलसी दिएपछि मोडलिङ क्षेत्रमा प्रवेश गरें, यसको भित्री मनसाय पनि फिल्मी क्षेत्रमा प्रवेश गर्ने नै थियो । पत्रकारितामा छँदा मैले बनाएको जुन पब्लिक रिलेसन थियो, त्यसले फिल्मी करिअरलाई पनि सहयोग पुर्‍याएको छ ।

अब फिल्म क्षेत्रमै स्थापित हुन चाहनुहुन्छ ?

निश्चयै । पत्रकारिताको सोख पनि छ । तर मैले आफूलाई फिल्मी क्षेत्रमै स्थापित गराउनुपर्छ । मेरो रुचि र क्षमताले त्यही भन्छ । काम पनि पाइरहेकी छु । खाली हात बस्नपरेको छैन ।

जस्तो ?

तीन वर्षअघि प्रमोद भण्डरीको निर्देशन रहेको 'सन्देश' बाट अभिनय यात्रा थालेकी थिएँ । त्यसयता लगातार व्यस्त छु । 'सन्देश' र 'गंगाजल' रिलिज भइसक्यो । अहिले मेरै मुख्य भूमिका रहेको 'कसम' देशभर चलिरहेको छ । फिडब्याक राम्रै छ । 'मार्‍यो नि मायाले मार्‍यो', 'आफ्नै मनलाई सोधिहेर', 'चम्पा चमेली', 'तिमीबिनाको जीवन' रिलिजको पर्खाइमा छन् । 'कसम' मा निकै चुलबुले युवतीको भूमिकामा हुनुहुन्थ्यो, वास्तविक जीवनमा गम्भीर जस्ती लाग्नुहुन्छ । अभिनयको मजा भनेकै यही हो । जस्तोसुकै चरित्रमा पनि आफूलाई फिट बनाउनुपर्छ । चुलबुले र ग्लामर भूमिका अलि बढी मन पर्छ ।

ओशो तपोवनतिर पनि बाक्लै देखिनुहुन्छ ?

त्यो मेरो जीवनको अर्को पाटो हो । चौध वर्षदेखि ध्यान गर्दै आएकी छु । बुवा (पूर्व सीडीओ), आमासहित हामी परिवारै ओशामार्गी हौं । म ध्यानमा जीवन देख्छु ।

अर्कातर्फ फिल्मको रंगीन दुनियाँ...

यो पनि एक प्रकारको ध्यान नै हो । दत्तचित्त भएर काम गर्दाजतिको आनन्द अन्त छैन । ध्यान भनेको तन र मनलाई एकत्रित पार्नु हो, यति भएपछि जहाँ पनि सफलता मिल्छ ।


तर ओशोको ध्यान र फिल्मबीचको तालमेल ?

ओशोमार्ग भनेको ध्यानमार्ग हो, टोटल्ली जोगीमार्ग चाहिँ हैन हाऽहाऽहाऽ... । ध्यानमा छँदा सबै बिर्सेर जोगी जस्तै भइन्छ । त्यसपछि सांसारिकता फर्केर आफ्नो रुचिको क्षेत्रमा डटिन्छ ।

ओशोमार्गीहरू यौनको मामिलामा उदार हुन्छन् भनिन्छ नि ?

त्यो तपाईंको पर्सेप्सनको कुरा भयो । ओशोले यौनबारे मात्रै बोलेका छैनन् । तर सबैजना ओशोको यौन दृष्टिकोणमा बढी केन्दि्रत हुन्छन्, आममान्छेको बढी चासो यौनतिरै छ भन्ने यसले पनि पुष्टि गर्छ । तपाईंको मनमा जे बढी छ, त्यही कुरा बाहिर आउने न हो ।

भनेपछि उदार भन्न मिल्दैन...

यसो पनि हैन । ओशोका अनुसार यौन शारीरिक आवश्यकता हो, यसलाई दबाउनु हुन्न ।

तपाईंको व्यक्तिगत धारणा पनि यही हो ?

म यही मान्यतामा विश्वास गर्छु ।

ओशो तपोवनमा तपाइको बेग्लै नाम हुन्छ, हैन ?

हो, जब ध्यानमा बस्छु, म शोभिता सिम्खडा हैन, माँजी शान्तम् सलिला हुन्छु । चौध वर्षअघि पाएको नाम हो यो । शान्तम् सलिला अर्थात् शान्त नदी ।

फिल्ममा चाहिँ चुलबुले...

असल कलाकारले जुनसुकै भूमिका गर्न सक्नुपर्छ ।

बिहे कहिले गर्नुहुन्छ ?

उमेर पुगेपछि हाऽहाऽहाऽ... । बिहेको पनि समय आउला ।









No comments: