Sunday, April 24, 2011

जीमखानामा नाङ्गै ब्ययाम


सोझो पाराले नभएपछि मानिसले अब पैसा कमाउनको लागि जेपनि गर्न तयार भएकाछन् । आर्थिक मन्दिका कारण ब्यापार-ब्यवसाय चौपट बनिरहेको बेला स्पेनको बास्क इलाकाको एक जिमखानाले ग्राहकहरुलाई आकर्षित गर्न नौलो तरिका अपनाएको छ ।



यस जीमखानामा न्युडिस्ट अर्थात नग्नतावादी मानिसहरुलाई नाङ्गै शारिरिक अभ्यास गर्ने सुविधा रहेको छ । स्वस्थ रहनका लागि नाङ्गो हुन छुट दिने अरिगोरिएगास्थित यो पहिलो जिमखाना हो । ‘मन्दिले गर्दा आजभोलि जिम आउने ग्राहकहरु निकै कम छन्,’ जिम संचालिका मार्क लसेकाले बताइन्, ‘म आफैमा नग्नताबादी होइन तर यसमा मेरो कुनै आपत्ती छैन । यो सेवाको उदेश्य पैसा आर्जन गर्नु नै हो ।’

‘इजी जिम’ खोल्नुअघि भने यथेष्ट अनुसन्धान गरिएको थियो । स्थानिय दुई स्विमिङ पुलले पनि न्युडिस्टहरुका लागि मासिकरुपमा नाङ्गै स्विमिङ गर्ने सुविधा दिदै आएको छ । साथै हरेक वर्ष सामुन्दि्रक तटमा नाङ्गो दौड प्रतियोगिता समेत आयोजना गर्ने गरेको छ । बास्क क्षेत्रमा दर्जनभन्दा बढी यस्तो तट रहेको छ भने देशभर झन धेरै रहेको पाइन्छ । ‘म सधै नयाँ र अनौठो कार्य गर्न उत्साहित हुन्छु,’ जिमको उद्घाटन कार्यक्रममा सहभागी भएका बास्क नेचुरिस्ट एसोसिएसनका अध्यक्ष मैते बैक्युनाले भने, ‘कपडाबिना ब्यायाम गर्नु प्राकृतिक हो अनि सुविधाजनक पनि हुन्छ ।’ जिमको समर्थनमा ९० प्रतिसत मत आएको एक सर्वेक्षणले देखाएको छ ।

यद्यपी नाङ्गो ब्यायाम गर्ने सुविधा दिनु गलत हो भन्दै यस किसिमको जिमप्रति रुष्टहुनेहरुको संख्या पनि कम छैन । कुनै पनि खेल वा ब्यायामका लागि अन्डरवयर बनाइएको हुनाले नग्नता प्रदर्शन गर्नु उचित नहुने उनीहरुले बताएका छन् । ‘संसारमा हरेक ब्यक्ति स्वतन्त्र छन् तर नग्न हुनु अस्वास्थ्यकर चिज हो,’ बिलबाओका एक परम्परागत जिम सञ्चालकले बताए, ‘नाङ्गो रहदा शरिरको पसिना कपडाले सोस्न नपाउने हुदा पसिना मेसिना, भुई वा नजिकैको ब्यक्तिमा जान्छ ।’

तैपनि नाङ्गै ब्यायाम गर्न मिल्ने आफ्नो जिम अब्यबहारिक नभएको जिम संचालिकाले बताइन् । उद्घाटनको दिनमै केबल ४ जना मात्र ग्राहक आएपछि यस ब्यवसायबाट धेरै पैसा कमाउने उनको सपना भने बिपना बन्न मुस्किलै छ ।

No comments: